विराटनगर - नेपाल न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय सम्मेलन आज सुनसरीको ईटहरीस्थित होटल सोल्टीमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलन पहिलो पटक कोशी प्रदेशमा आयोजना गरिएको हो, जसको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने ।

"प्रविधिसँगको न्यूरो सर्जरीको विकास" भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा नेपालभरका न्यूरो सर्जनहरू, विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट र छिमेकी देशका प्रतिनिधिहरू सहित १५० भन्दा बढी सहभागिता रहेको छ। नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डा. यमबहादुर रोकाका अनुसार, यस सम्मेलनमा न्यूरो सर्जरीको क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्धानहरू प्रस्तुत गरिनेछ, जसमा १०० भन्दा बढी अनुसन्धान कार्यपत्रहरू प्रस्तुत गरिने छन् र उत्कृष्ट कार्यपत्रलाई पुरस्कार प्रदान गरिनेछ।सम्मेलनको उद्देश्य न्यूरो सर्जरी सेवाको विकाससँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको मनोबल बढाउन र जनसाधारणमा चेतना फैलाउन रहेको छ। सम्मेलनले न्यूरो सर्जरीसम्बन्धी उपचारमा आत्मनिर्भर बन्ने दिशामा प्रेरणा दिने अपेक्षा गरिएको छ।

यसअघि, सम्मेलनको पूर्वसन्ध्यामा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एकदिने कार्यशाला गोष्ठी पनि सम्पन्न भएको थियो। उक्त गोष्ठीमा विशेषज्ञहरूले विभिन्न स्वास्थ्य विषयहरूमा ज्ञान र अनुभव साटासाट गरेका थिए।डा. रोकाका अनुसार, यसपटक पहिलो पटक काठमाडौंबाहिर यो सम्मेलन आयोजना गरिँदैछ, जसले पूर्व क्षेत्रका चिकित्सकहरूलाई न्यूरो सर्जरीका नयाँ प्रविधिहरूको जानकारी दिनेछ।