मोरङ, उर्लाबारी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा बिहीबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा ४ः४५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रदेश १–०२–०५० प ८४०६ नम्बरको पश्चिमबाट पूर्वतर्फ गइरहेको र प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोरङको पथरीशनिश्चरे–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी–४ रमाइलोका २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको छ। उनीहरुलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा परेर गम्भीर घाइते भएका कानेपोखरी–४ का २५/२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७/३८ वर्षीय विष्णु धिमाललाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल लगिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति नै दुर्घटनाको कारण भएको अनुमान गरिएको छ। दुवै मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घटनाको थप अनुसन्धान उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा भइरहेको छ।

मृतक र घाइतेका आफन्त साँझसम्म सम्पर्कमा नआएको र घटनाबारे थप विवरण संकलन भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन्।