इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार बिहान भएको सडक दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा संखुवासभा धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी पत्नी ३२ वर्षीय टीका गुरुङको ज्यान गएको हो।
दुर्घटना बिहान ११ः३० बजे भएको हो। को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार दम्पतीलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो। त्यसपछि टिपर पछाडि रहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भेनले मोटरसाइकललाई किचेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले म्याजिक भेन र चालक श्याम विक (३९, इटहरी–१२ खनार) तथा टिपर र चालक सागर मग्राती (३५, मोरङको सुन्दरहरैँचा नगरपालिका–३) लाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।


















