वीरगन्ज  - वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडस्थित सडक खण्डबाट प्रहरीले अवैध सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार २८ वर्षीय जयप्रकाश कुमार सोनारलाई १०७ ग्राम ८७ मिलिग्राम सुन र १३ लाख ८८ हजार ४३६ रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।

पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले विशेष सूचनाका आधारमा सोनारलाई नियन्त्रणमा लिइएको बताए। “शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा, सोनारले लगाएको कालो जिन्सको खल्तीमा कागजमा बेरिएको सुन फेला परेको हो,” डिएसपी लम्सालले भने।

सुन अवैध रूपमा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनी पक्राउ परेका हुन्। पक्राउ परेका सोनारलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यस घटनासँगै प्रहरीले सुन तस्करीको गतिविधिमा निगरानीलाई अझै कडा पार्ने बताएको छ।