विराटनगर - मैथिली भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै आएको मैथिली एसोसिएशन नेपालले मान इन्टरनेशनल अवार्ड वितरण गर्न लागिएको छ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले जानकारी गराएका छन्।

मैथिली एसोसिएशन नेपालका केन्द्रिय कार्यसमिति विराटनगरका अध्यक्ष चौधरी, उपाध्यक्ष आभा अनुपमा, महासचिव राकेशकुमार देव र कार्यक्रम संयोजक तथा राष्ट्रिय गायक विरेन्द्र झाले बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड वितरण कार्यक्रमबारे जानकारी दिएका हुन्।

अध्यक्ष चौधरीका अनुसार नेपाल र भारतका ६० जना व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गरिनेछ। यस्तै, ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनर बाट सम्मान गरिने योजना रहेको छ।

कार्यक्रम मंसिर १५ गते शनिबार विराटनगरको रोडशेष चौकस्थित होटल स्वागतममा भव्य रूपमा आयोजना गरिनेछ। मैथिली भाषाको प्रचार-प्रसार तथा समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्न यो अवार्ड प्रदान गर्न लागिएको हो।

मैथिली समुदायबीच यस्तो कार्यक्रममा ठूलो चासो रहेको छ, भने आयोजकले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी पूरा गरिसकेको जनाएको छ।