काठमाडौं - नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहेको छ। तराईका केही स्थान र पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको विभागले जानकारी दिएको छ।

दिउँसोका लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र ती स्थानका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ। अन्य स्थानमा भने मौसम सफा रहनेछ।

यस्तै, रातिको मौसम पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको र कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ।

यस अवस्थाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विशेषगरी चिसोको प्रभावलाई ध्यानमा राखी जनसाधारणलाई सावधानी अपनाउन सल्लाह दिइएको छ।