लेटाङ - मोरङको लेटाङमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लेटाङको टोलीले बुधबार राति ११:३० बजे छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेका ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर, लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ छन्।
इलाका प्रहरी कार्यालयका अनुसार, छापामार्दा तासका १ सय ९ पत्ती, २ बुक नयाँ तास, खालबाट ४८ हजार ५ सय नगद र खेल्नेहरूको साथबाट ६१ हजार ८ सय नगद बरामद गरिएको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले यस किसिमको गतिविधि नियन्त्रण गर्न छापा अभियानलाई निरन्तरता दिने बताएको छ।


















