काठमाडौं । मानव तस्करीको आरोपमा सरकारी वकिलको कार्यालयबाट सफाइ पाएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता भएको हो । यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दे दरपिठ गरिदिएको थियो । वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अधिकारीलाई क्लिन चिट दिनु गलत भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ ।

रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने निवेदकको माग छ । उनीविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ । अधिकारीलाई उच्च राजनीतिक दबाबका कारण सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको भन्दै सो निर्णय कार्यान्वयन नगर्न रिटमा माग गरिएको छ ।