काठमाडौं – भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानी जेत्सुन पेमा वाङ्चुक आज नेपाल भ्रमणमा आउने भएका छन्। भारतको औपचारिक भ्रमणबाट फर्किने क्रममा शाही दम्पतीले काठमाडौंमा करिब तीनदेखि चार घण्टा बिताउने कार्यक्रम रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब १० बजे अवतरण गरेपछि शाही दम्पती सिधै स्वयम्भूनाथको दर्शनका लागि जानेछन्। त्यसपछि उनीहरूले बौद्धनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणलाई धार्मिक र नितान्त व्यक्तिगत उद्देश्यको रूपमा लिइएको छ। शाही दम्पतीले काठमाडौंमा रहँदा कुनै औपचारिक भेटघाट गर्ने योजना नराखेको बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण ‘ट्रान्जिट भिजिट’को रूपमा हुनेछ। सरकारको तर्फबाट त्रिभुवन विमानस्थल र शाही दम्पतीको भ्रमण रुटमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसअघि, असोज महिनामा पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको पारिवारिक भ्रमण गरेका थिए। सोही क्रममा उनले भुटानी राजालाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

शाही दम्पतीको नेपाल भ्रमणले नेपाल र भुटानबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।