इटहरी-मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’

त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । 

नवराजको जन्म वि.सं. २०३४ साल कार्तिक १६ गते सुनसरीको प्रकाशपुरमा भयो । जन्मेको केही महिनामै परिवार इटहरी बसाइँ सरेपछि उनको बाल्यकाल, शिक्षा र संघर्ष सबै इटहरीमै बित्यो । राष्ट्रिय माध्यमिक विद्यालयदेखि जनता माध्यमिक विद्यालय र जनता बहुमुखी क्याम्पससम्मको शैक्षिक यात्राले उनलाई यही शहरसँग जोडिरह्यो ।

त्यो समय अधिकांश युवाको सपना विदेश जाने थियो । नवराजभित्र पनि त्यही चाहना थियो । तर बुवा जीवनाथ काफ्लेले छोरालाई फरक बाटो देखाए । उनले विदेशभन्दा स्वदेशमा अवसर सिर्जना गर्ने सोच सिकाए । परिवारले २०४२ सालदेखि सञ्चालन गरेको इट्टा उद्योगमा नजिकबाट काम गर्दै उनले व्यवसायलाई नै आफ्नो भविष्य बनाए ।

२०५८ सालदेखि उनी पूर्णकालीन रूपमा व्यवसायमा लागे । सुरुमा साझेदारीमा काम गरे भने पछि झुम्काको भासी क्षेत्रमा आफ्नै इट्टाभट्टा सञ्चालन गरे । त्यसबेला उत्पादन गरेर बजार खोज्नुपर्दैनथ्यो । ग्राहक आफैं उद्योगसम्म पुग्थे । तर समय परिवर्तनशील छ । समयसँगै बजारको स्वरूप बदलियो । निर्माण क्षेत्र सुस्तायो । प्रतिस्पर्धा बढ्यो । अन्ततः डेढ वर्षअघि इट्टाभट्टा बन्द भयो ।

तर व्यवसाय बन्द भएपछि उनको यात्रा भने रोकिएन ।

समयको मागअनुसार उनले व्यवसायको स्वरूप परिवर्तन गर्दै गए । २०६९ सालमा इटहरीमा पशुपति होटल सञ्चालनमा ल्याए । विस्तारै होटल व्यवसायलाई बढाउँदै लगे । त्यसपछि २०७७ सालमा इटहरी–१७ एकम्बामा पशुपति लाइभस्टक एन्ड कृषि फार्म स्थापना गरी माछापालन र कृषि क्षेत्रमा हात हाले । पशुपति ट्रेड एन्ड सप्लायर्समार्फत ई–रिक्साका ब्याट्रीको आपूर्ति व्यवसायलाई पनि विस्तार गरे ।

उनको बुझाइमा सफल व्यवसायी भनेको एउटै व्यवसायमा अड्किने व्यक्ति होइन, बदलिँदो समयसँगै आफूलाई रूपान्तरण गर्न सक्ने व्यक्ति हो ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उनको सक्रियता निरन्तर रह्यो । नेपाल रेडक्रस इटहरीका यशस्कर सदस्य रहेका उनी लियो क्लब अफ इटहरी सुनसरी र लायन्स क्लब अफ इटहरी सिटीको नेतृत्वसमेत सम्हालिसकेका छन् । व्यापार, समाजसेवा र संस्थागत अनुभवले उनलाई नेतृत्वका लागि तयार बनाएको उनी निकटस्थहरूको बुझाइ छ ।

यतिबेला उनको अर्को यात्रा उद्योग वाणिज्य संघतर्फ मोडिएको छ । लगातार तीन कार्यकाल संघको निर्वाचित सदस्य बनेका उनी भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा संघको भवन निर्माण सम्पन्न गराउने टोलीमा थिए । त्यही अनुभवलाई अब नेतृत्वमा रूपान्तरण गर्न चाहन्छन् ।

उनको प्राथमिकतामा व्यवसायीमैत्री वातावरण निर्माण, संघको डिजिटल रूपान्तरण, सदस्यताको अनलाइन नवीकरण, स्थानीय सरकारसँग समन्वय, घरबहाल करको दीर्घकालीन समाधान, व्यवसायीको सुरक्षा, बैंकिङ समस्यामा सहजीकरण, स्टार्टअप व्यवसायलाई प्रोत्साहन र इटहरीको रात्रिकालीन अर्थतन्त्रको विकास छन् ।

उनको विचारमा इटहरी जस्तो व्यापारिक शहर साँझै बन्द हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । बजारलाई स्वस्फूर्त रूपमा लामो समय सञ्चालन गर्न सके व्यापार, पर्यटन र रोजगारी तीनै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ । उनी भन्छन्, ‘बजार स्वस्फूर्त रूपमा खुल्न पाउनुपर्छ । कर्मचारीलाई पालैपालो बिदा दिएर व्यवसाय सातै दिन चलाउन सकिन्छ । इटहरीको अर्थतन्त्रलाई साँझमै सुत्न दिनु हुँदैन ।’ 

नवराजको जीवनमा परिवार अर्को ठूलो आधार बनेको छ । २०६१ सालमा सर्विना काफ्लेसँग विवाह गरेका उनका छोरा सार्थक र छोरी सृष्टि छन् । जीवनका कठिन मोडमा श्रीमतीले दिएको साथलाई उनी आफ्नो सफलताको मुख्य आधार मान्छन् ।

तर आज नवराजलाई सबैभन्दा बढी सम्झना आउने व्यक्ति भने उनका बुवा जीवनाथ काफ्ले हुन् ।

भोजपुरबाट २०१९ सालतिर तराई झरेका जीवनाथले संघर्षबाट आफ्नो परिचय बनाएका थिए । व्यापारसँगै समाजसेवा, सहकारी, रेडक्रस, लायन्स क्लब, धार्मिक संस्था र नेपाली कांग्रेसको नगर सभापतिसम्मको भूमिकाले उनलाई इटहरीको सम्मानित सामाजिक व्यक्तित्व बनाएको थियो । उनले व्यापारलाई नाफामात्र होइन, समाजसँगको सम्बन्धका रूपमा पनि हेरे ।

आज बुवा छैनन् । आमा पनि छैनन् । तर उनीहरूले दिएको संस्कार भने नवराजको यात्रामा अझै जीवित छ ।

जसकारण उनी वर्तमान अवस्थामा आइपुग्दा एउटा व्यवसायीको सफलता भनेर मात्र बुझ्न सकिँदैन । यो एउटा पुस्ताले सुरु गरेको संघर्षलाई अर्को पुस्ताले समयअनुसार रूपान्तरण गर्दै अघि बढाउने प्रयास पनि हो । बुवाले रोपेको उद्यमको बीउलाई संस्थागत नेतृत्व, आधुनिक सोच र नयाँ पुस्ताको दृष्टिकोणसँग जोड्ने यात्राको अर्को अध्याय बनेको उनी निकटहरू बताउँछन् ।