काठमाडौंः आजदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा तत्काल सबै सवारीसाधन चल्न अनुमति दिइने छैन । एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै परीक्षणकालमा निःशुल्क सुरुङमार्ग सञ्चालन गर्न दिइनेछ । तीन महिने परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) पछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेर अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश गर्न दिइने जनाइएको छ ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन, साथै डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिने भएको छ ।

निर्माण शुरु भएको करिब ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो ।