इटहरी । आध्यात्मिक जागरण, आपसी सद्भाव र विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर तथा धरानले भव्य मोटरसाइकल शान्ति र्याली आयोजना गरेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर र धरान स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती विशेष कार्यक्रमअन्तर्गत निकालिएको र्याली विराटनगरबाट शुरु भएर इटहरी हुँदै धरान पुगेर समापन भएको हो ।
सो र्यालीमा सयौँको संख्यामा राजयोगी, युवा र स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो । सहभागीहरूले शान्ति, प्रेम, एकता र मानवीय मूल्य–मान्यताको सन्देश लेखिएका प्लेकार्ड तथा संस्थाका झण्डा बोकेर मोटरसाइकलमार्फत विभिन्न स्थानको परिक्रमा गरेका थिए ।
विगत ६ दशकदेखि पूर्वी नेपालमा आध्यात्मिक चेतना अभिवृद्धि, सकारात्मक सोचको विकास, राजयोग ध्यान, तनाव व्यवस्थापन तथा कुलतमुक्त जीवनशैली निर्माणमा ब्रह्माकुमारीजले पुर्याउँदै आएको योगदानलाई स्मरण गर्दै र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
समाजमा बढ्दै गएको तनाव, अशान्ति, नकारात्मक सोच र आपसी असमझदारीलाई न्यूनीकरण गर्न आध्यात्मिक ज्ञान तथा आत्मिक शान्तिको आवश्यकता रहेको सन्देश र्यालीमार्फत् प्रवाह गरिएको थियो ।


















