विराटनगरः दुई घरबाट चारवटा बाख्रा चोरी गरेर आफ्नै घरमा लुकाएर राखेको आरोपमा विराटनगरमा दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी छन् । उनीहरूले फरक–फरक मितिमा दुई घरबाट दुईवटा खसी, एउटा माउ बाख्रा र एउटा पाठा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


उनीहरूले कात्तिक ११ गते राति विराटनगर–४ को एक घरबाट एउटा खसी र एउटा बाख्रो चोरी गरेका थिए । त्यसको तीन दिनपछि कात्तिक १४ गते राति विराटनगर–३ कै अर्को घरबाट एउटा खसी र एउटा बाख्राको पाठा चोरेको आरोप छ ।


चोरीका बाख्रा आफ्नै घरमा लुकाएर राखेको सूचना पाएपछि प्रहरीले कात्तिक १४ गते बिहान उनीहरूको घरमा खानतलासी गरेको थियो । 


पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।