काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।
चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए ।
अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए । यसअघि विराटनगर किंग्स विरुद्ध पहिलो खेलमा चितवनको कप्तानी गरेका उनले अविजित ३२ रन बनाएका थिए ।


















