काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा रासिद खान र करण केसीले गरेको उत्कृष्ट ब्याटिङको बलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।  जारी संस्करणको प्रतियोगितामा काठमाण्डुको यो पहिलो जीत हो भने कर्णालीको पहिलो हार हो । 

 आजको खेलमा काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए ।


यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे ।

रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकीय साझेदारी गर्दै काठमान्डुको जीतको आधार तयार पारेका थिए ।

बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेत तलतले २–२ विकेट लिए । मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए ।


त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।