काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विजयी हुँदै विराटनगर किंग्सले दोस्रो जीत निकालेको छ । विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्रै बनायो ।
विराटनगरको जीतमा आन्द्र रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएपछि विराटनगरको जीत सहज भएको थियो ।
जनकपुरका सैफ हसनले ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै, विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोडे ।
रसेलको चार विकेट बाहेक एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोडेको थियो ।
विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए । लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिएका थिए ।
जीतसँगै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । चार खेलमा दुई जीत र दुई हार बेहोरेको विराटनगरको ४ अंक छ । यता, समान नतिजासहित समान अंक भए पनि जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेल अहिले साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेञ्जर्सबीच खेल हुनेछ ।


















