विराटनगरः राति १० बजेपछि होटल तथा व्यवसाय बन्द गर्न मोरङ प्रशासनले दिएको निर्देशनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाउनुभएको छ ।

सुरक्षा व्यवस्थापनको जिम्मेवारीबाट पन्छिएर नागरिक र पर्यटकको आवागमनमा समयसीमा तोक्नु उचित नहुने उहाँको धारणा छ ।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले राज्यको दायित्व नागरिक र देशमा आउने पाहुनालाई २४ सै घण्टा सुरक्षा तथा सेवा उपलब्ध गराउनु रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने र सडक तथा आन्तरिक हवाई यातायातबाट यात्रु जुनसुकै समयमा गन्तव्यमा पुग्न सक्ने अवस्थामा राति १० बजेपछि होटल बन्द गर्ने निर्देशन व्यावहारिक नहुने जनाउनुभएको छ ।

भारतका सीमावर्ती शहरमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ८–९ बजे अवतरण गर्ने यात्रु राति नेपाली शहरमा आइपुग्न सक्ने उदाहरण दिँदै त्यस्ता यात्रुलाई राति १० बजेपछि होटलमा बास नदिने वा सेवा बन्द गर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभएको छ ।

‘राज्यले दिउँसो मात्रै सुरक्षा दिने र राति सुरक्षा उपलब्ध नगराउने भन्ने हुन सक्दैन’ कार्कीले भन्नुभएको छ, ‘राति अबेर गन्तव्यमा पुग्ने नागरिक तथा पर्यटकलाई आवागमन र बासको समस्यामा पार्न हुँदैन ।’

मुख्यमन्त्रीले स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता निर्णय गर्दा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र परामर्श गर्नुपर्ने सुझावसमेत दिनुभएको छ ।