काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।
युएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । युएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।
यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो ।

अब नेपालले मंगलबार पाकिस्तानसँग खेल्नेछ ।