इटहरी ।  शिक्षामा प्राज्ञिक सहकार्य र संस्थागत साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे उच्चस्तरीय छलफल भएको छ ।
काठमाडौं विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै गरेको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय, गोठगाउँको औपचारिक भ्रमणका क्रममा छलफल भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टा र रजिस्ट्रार प्रा.डा. पन्ना थापाको उपस्थितिमा आयोजित भेटघाट तथा छलफलमा दुवै विश्वविद्यालयबीच आपसी समन्वय, प्राज्ञिक उन्नयन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत साझेदारीका विविध पक्षमा गहन विचार विमर्श भएको बताइएको छ ।

छलफलका क्रममा विशेषगरी दुवै विश्वविद्यालयको संयुक्त पहलमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, संयुक्त डिग्री कार्यक्रमको अवधारणा अघि बढाउने तथा त्यसको सम्भाव्यता, कार्यान्वयन प्रक्रिया र संस्थागत व्यवस्थापनका विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयको भ्रमण टोलीको नेतृत्व उपकुलपति प्रा.डा. विवेक बरालले गर्नुभएको थियो । टोलीमा शैक्षिक सल्लाहकार प्रा.डा. मनिष पोखरेल तथा सहप्राध्यापक डा. प्रतिष्ठितलाल श्रेष्ठको समेत सहभागिता रहेको थियो ।