काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने निर्वाचन आयोगले तयारी गरेको छ।

यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।

आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए। आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ ले चुनाव प्रचारको अवधि १५ दिन मात्रै दिएको छ।