मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।

अघिल्लो निर्वाचनमा पराजित डा. शर्मालाई मंगलबार बसेको मोरङको क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेको हो।

बैठकमा ६ जना व्यक्तिको नाममा छलफल हुँदा कांग्रेसको संस्थापन पक्षधरले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो।

काठमाडौँ शिक्षण अस्पतालका सञ्चालक रहेका डा. शर्मा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग १ हजार ९ सय ७ मत अन्तरले पराजित भएका थिए।

ढकालले ४२ हजार ४ सय १३ मत हासिल गर्दा डा. शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए।