सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यका लागि बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेललाई यति बेला चुनावी सभामा, प्रचारप्रसार र कार्यक्रमहरूमा जान भ्याइ नभ्याई छ। घरमा सानो  छोरा र  सासू ससुरालाई छोडेर उनी बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा हुन्छिन्। उनका श्रीमान् नेकपा माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिव डाँगी पनि चुनावी प्रचारमा उत्तिकै खटिएका छन्। बिहान साँझ थोरै समय निकालेर दुवै जनाले घरको काम सक्छन् । बच्चा र बुढी आमाका लागि खानेकुरा तयार गर्दिन्छन् र हस्याङफस्याङ गर्दै कार्यक्रम, भेटघाटका लागि निस्कन्छन्। 

उमेदवार बनेपछि मात्र हैन उनीहरूको यस्तो दैनिकी सुरु भएको वर्षौँ भइसक्यो। उमेदवार नबन्दा पनि पार्टी र जनताका कामका लागि उनीहरू दुवै जना सधैँ सक्रिय छन्। यति लामो राजनीतिक जीवनमा कुनै पनि नकारात्मक टिप्पणी र विवाद विना जनताका लागि खटिएकी सरस्वती सुनसरीवासीकी प्रिय नेता हुन् भन्दा पनि खास्सै फरक नपर्ला। 

प्युठान जिल्लाको हालको झिम्रिक गाउँपालिकामा २०३२ सालमा जन्मिएकी सरस्वती पोखरेल २०५८ सालको मध्यसंकटकालका समयमा माओवादीमा लागेकी थिइन्। अनेरास्ववियुकी केन्द्रीय सदस्य सम्म भएकी पोखरेल वि।सं २०५४ मा माले र एमाले अलग भएपछि मालेतिर लागेकी थिइन्। २०५८ मा पुनस् माले र एमाले एकता हुने भएपछि उनलाई एमालेमै फर्किन मन लागेन। त्यसपछि ‘केही गर्छ भने माओवादीले गर्छ’ भन्ने लाग्यो र उनी मध्य संकटकालको समयमा पार्टीमा विद्रोह गरेर माओवादीमा लागिन्।

नाफाको जीवन

सङ्कटकालका समयमा माओवादीमा लागेकी पोखरेलले राजनीतिक जीवनमा ठुला उतारचढाव भोगेकी छन्। माओवादीमा पनि उनी विद्यार्थी संगठनमा रहिन्। उनी अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बनेकी थिइन्। पार्टीकै काम गर्ने सिलसिलामा गिरफ्तार पर्दा भोगेका चरम यातना अहिले सम्झँदा सपना जस्तो लाग्ने उनी बताउँछिन्। पोखरेलले भनिन्, ‘गिरफ्तारमा पर्दा भोगेका कति कुरा अहिले शब्दमा व्यक्त गर्न नै सक्दिन। ८ महिना आँखामा पट्टी बाँधेर चरम यातना भोगियो। बिरामी भए पछि जेल चलान गरेको थियो । जिन्दगी सकिए जस्तो लागेको थियो। अहिलेको यो जीवन त मलाइ नाफामा पाएको जस्तो लाग्छ।’

गिरफ्तार परेका बेला प्रहरीको यातनाबाट गम्भीर बिरामी हुन पुगेपछि उनलाई जेल चलान गरियो। जेलमा बिताएको ३ महिनाको अवधि पनि उनका लागि निकै दुखदायी छ। कयौँ दिनसम्म भोकै हुँदा उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गयो। उनीहरूले खाना पनि नपाएको अवस्थामा सहकर्मी शिव डाँगीले आफूलाई आएको खाना काटेर लुकाएर  लगिदिन्थे। पछि ‘बन्दीलाई कि खान देऊ की मारिदेऊ’ भनेर डाँगी अनसन नै बसेपछि भने उनीहरूले पनि खान पाएका थिए। त्यति बेला दशैका बेला भएकाले प्रहरीहरू बिहान बेलुकै मासु भात खाइरहँदा उनलाई पनि त्यही दिए । धेरै पछि खान पाएको त्यही माथि मासु भात नै खान पाउँदा निकै खुसी लागेको अनुभव सम्झिन्छिन् । शान्ति प्रक्रिया चलिरहेका बेला रिटको माध्यमबाट उनी तीन महिनाको जेल बसाइबाट रिहा भइन्।

जनवादी विवाह

सहकर्मीका रूपमा एउटै संगठनमा काम गर्दै आएका शिव डाँगीसँगको भावनात्मक सम्बन्ध बिस्तारै गहिरिँदै गयो। उनी सुनाउँछिन्, ‘सँगै यातना भोगियो, एक अर्काको चित्कार सुनियो, दुखमा साथ दिइयो र पाइयो, जेलमा बन्दी बनेर खान नपाउँदा शिव जीले आफ्नो गाँस काटेर खुवाउनु भयो, बन्दीलाई खाना देऊ भनेर अनसनसम्म बस्नुभयो। यस्तो बेला साथमा भएपछि भावनात्मक रूपमा पनि नजिक भइने रहेछ।’

यसरी प्रेममा बाँधिएका क्रान्तिकारीहरूको २०६० सालमा ‘ल क्याम्पसमा’ डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा विवाह सम्पन्न भयो। हाल शिव डाँगी प्रदेश १ का माओवादी केन्द्रका उपाध्यक्ष छन्। 

कुर्ता सुरुवालमा बाटोमै जन्मियो छोरो

विवाहपछि पोखरेललाई पार्टीले सङ्खुवासभा पठायो। शिव डाँगीको घर पनि सङ्खुवासभा भए पनि सङ्कटकालका कारण उनीहरू घर बाहिर अलग अलग रहेर नै आ आफ्नो कार्यभार सम्हालेर बसेका थिए। पोखरेलको पेटमा बच्चा आइसक्दा समेत उनले एक दिन पनि आफ्नो अवस्थाबारे नसोची निरन्तर पार्टीको काममा नै लागिरहिन। बच्चा जन्मनुभन्दा केही समयअघि पेटको बच्चा उल्टो भएको र मधेस गएर अप्रेसन गर्नुपर्ने अनमिहरुले सुझाव दिएपछि उनीहरू तराई झर्दै थिए। संकटकालको बेला भएकाले खुलेआम हिँड्न सक्ने अवस्था थिएन। उनलाई बाटोमै व्यथाले च्याप्यो। शिवले एउटा अपरिचितको बाइकमा राखेर उनलाई पठाए र आफू पछिपछि दौडिन थाले। 

‘माओवादीले भनेपछि बाइकवालाले नाइँ भन्न सकेन। मलाई व्यथाले च्यापेर चिच्याएको बेला बाइक रोक्थ्यो र अलि कम भएपछि फेरि चलाउँथ्यो। केही घण्टा त्यसरी नै यात्रा गरेपछि एउटा गाडीवालाले एम्बुलेन्स बोलाइदिए। एम्बुलेन्समा चढेको केही समयमै बच्चा जन्मियो। ूमैले कुर्ता सुरुवाल लगाएकी थिएँ। बिच जङ्गलमा सुरुवालमै बच्चा जन्मियो।’ उनी सुनाउँदै गइन, ‘हामीलाई त के गर्ने अत्तोपत्तो भएन। एम्बुलेन्सवालाले एक सुँडिनीको घरमा पुर्‍याइदिए। त्यहाँ पुग्दा बच्चा हरियो भइसकेको थियो। धन्न त्यस घरका सबैले पालैपालो आगोमा सेकेर कपडामा पोको पारेर बच्चालाई जगाए। त्यहाँबाट अब कता जाने भन्ने टुङ्गो पनि थिएन। झापामा एक आफन्त छन् भन्ने सुनेर खोज्दै खोज्दै पुग्यौँ र केही दिन त्यहीँ बस्यौँ।’

शिव र सरस्वतीका दुई छोरा छन्। अर्को छोरा पनि २०७४ को निर्वाचनका बेला चुनावी अभियानमै रहेको समयमा जन्मिएका हुन्। अघिल्लो दिनसम्म स्कुटर चलाएर हिँडिरहेकी पोखरेलले अर्को दिन बच्चा जन्माएको सुन्दा आफ्नै नजिकका आफन्त र साथीभाइले पनि विश्वास गरेका थिएनन्। 

६ महिने बच्चा छोडेर फेरि कार्यक्षेत्रको माग

केही महिना भारतमा गएर माइतीको आडमा बसेकी पोखरेल शान्ति प्रक्रियापछि झापा फर्किन् । तर श्रीमानको कार्यक्षेत्रमा बच्चा च्याप्दै र खाना बनाएर बस्न मात्र उनको मनले मानेन। उनी पार्टीमा आफ्नो कार्यक्षेत्र र भूमिकाको माग गर्न थालिन्। श्रीमानले बच्चा सानो छ कतै नजाऊ भन्दा श्रीमानसँग पनि झगडा गरिन् र अन्तमा ६ महिने बच्चा च्यापेर प्युठान कार्यक्षेत्र लिएर काममा खटिन थालिन्। उनी जसरी पनि पार्टीमा सक्रिय रहने अठोट देखेपछि पार्टीले पुन झापा कार्यक्षेत्र तोकिदियो र उनी ६ महिने छोरो छोडेर झापा फर्किन्। झापामा केही समय कार्यक्षेत्र बनाएर काम गरेपछि २०६४ सालमा सुनसरी कार्यक्षेत्र बनाएर काम सुरु गरिन्। २०६४ सालदेखि पोखरेल निरन्तर अहिलेसम्म सुनसरीमै छिन् र सुनसरीमा ठुलो योगदान दिइसकेकी छन्। 

उनी सुनसरीमा कहिले पार्टी सह इन्चार्ज, इन्चार्ज त कहिले अध्यक्षको भूमिकामा रहिन । २०७४ को निर्वाचनपछि समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेकी पोखरेल उपसभामुख समेत बनिन्। उनले आफू प्रदेश सभा सदस्य भएपछि इटहरी उपमहानगरपालिका लगायत सुनसरी जिल्लाका लागि निकै महत्त्वपूर्ण काम गरेकी छन्। 

पोखरेलको पहलमा इटहरीमा आकाशे पुल निर्माणका लागि बजेट छुट्टिएको छ। इटहरी रङ्गशालामा फ्लडलाइट र कबड हल स्तर उन्नतिको लागि बजेट छुट्टिएको छ। त्यसै गरी इटहरीका मुख्य समस्या डुबान नियन्त्रणका लागि उनकै पहलमा हाल डिपिआर तयार गर्ने काम भइरहेको छ। इटहरी ११ मा झोलुङ्गे पुल निर्माण, इटहरीको सडकमा सडक बत्ती जडान, इटहरी चोकमा ट्राफिक लाइट जडान, २ नम्बर क्षेत्रका ग्रामीण सडकहरू मर्मत तथा कालोपत्रे जस्ता धेरै काम भएका छन्। 

पोखरेलले समानुपातिकबाट प्रदेश सभा सदस्य हुँदा आफूले प्रत्यक्ष रूपमा चाहे जति अधिकार नपाएको र सोचेजस्तो काम गर्न नसकेकाले यस पटक प्रत्यक्षबाट चुनाव लड्न लागेको बताइन्। उनले इटहरीलाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, संस्कृति लगायत कुराहरूको केन्द्रको रूपमा परिचित गराउने र जनतालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन्।

समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेकी पोखरले युवा क्षमतालाई देशमै सदुपयोग गर्नुपर्ने कुरामा निरन्तर जोड दिँदै आएकी छन्। 

माओवादी जनयुद्धबाट विजयी नभएर शान्ति प्रक्रियाका माध्यमबाट सम्झौता स्वरूप आएकाले माओवादीले जनताको भावना अनुसार चाहेर पनि काम गर्न नसकेको उनले स्वीकार गरिन्। उनले भनिन्, ‘एक हामी विजयी भएर हैन सम्झौता गरेर आयौँ, शान्ति प्रक्रियाबाट आइसकेपछि पार्टीभित्रै टुटफुट लगायतका अनेक समस्या देखिए त्यसैले सोचेजस्तो काम गर्न नसकेकै हो। तर हामीले व्यवस्था बदलेका छौँ। सही गन्तव्य पहिचान भइसकेको छ । कुन बाटो जाने भन्ने निश्चित छ। हाम्रो पाइला मात्र सही ढङ्गले अघि बढाउनु पर्ने छ।’ उनले आफूहरूले व्यवस्था बदलेको र अब अवस्था पनि बदल्ने प्रतिबद्धताका साथ काम गर्ने बताएकी छन्।