गत दुई दशकको तीव्र विकासले गर्दा भारत अहिले विश्व कै प्रमुख अर्थतन्त्रमा पर्दछ! केही दशकमै एक दुई नम्बरमा पर्ने आँकडा प्रशस्त छन् यदि सही नेतृत्व प्राप्त भइरह्यो भने! तर भारत, चीन, रसिया, ब्राजिल जस्ता देशले अर्थ तन्त्रमा जति नै सुधार गरे पनि हरेक जनता सामु त्यसको सकारात्मक पहुँच हुँदैन किनकि त्यहाँको सामाजिक सुरक्षा पद्धति अझै तेस्रो विश्वका मुलुक सरहको छ !

३० वर्ष अघि एक जना पनि बिलिनियर नभएको भारतमा अहिले झन्डै दुई सय जति छन् र यो सङ्ख्या तीव्र रूपमा बढ्दो छ ! यसको विपरीत भारत मै सत्र लाख बढी नागरिक घरबारविहीन छन् । चन्द्र यानको सफलता तिनलाई मतलब छैन । हुन त मध्यम वर्गीय जनता उत्तिकै बढ्दै छन् तर प्रभावकारी सामाजिक सुरक्षाको अभावमा घरसारविहीनलाई व्यवस्थित गर्न भारतलाई हम्मे हम्मे परेको देखिन्छ ।

हुन त घरवारविहीनहरू भारत भन्दा साना अर्थतन्त्र भएका पश्चिमी विकसित देशमा पनि उत्तिकै अनुपातमा छन् तर पश्चिमी देशमा भने बहुसङ्ख्यक घरबारविहीन कि त विभिन्न कारणले सुविधा लिन नचाहनेहरू छन् कि त देश बाहिरका नागरिक भएकाले सुविधाबाट वञ्चित हुन पुगेका छन्! भारतमा भने आफ्नै देशका नागरिक पनि पर्याप्त सुविधा प्रणालीको अभावमा त्यसो हुन पुगेका छन् ।

भारतले चन्द्रमामा यान पठायो भनेर सबै पश्चिमी विकसित देशले अन्धाधुन्ध अनुकरण गर्दैनन् । तिनका लागी देशको प्राथमिकतामा जे जे पर्छ त्यो त्यो नगरे देशको सरकार टिक्दैन । अब हामी नेपाली पनि चन्द्रमामा यान पठाउने भारतको पछि लागेर हुँदैन । त्यो हाम्रो प्राथमिकतामा पर्दैन जब सम्म हामीले हाम्रा नागरिकलाई पश्चिमी विकसित देशमा झैँ गाँस, बास, कपास, प्रभावकारी औषधोपचार, स्तरीय शिक्षाको ग्यारेन्टी गर्न सक्तैन, मुखमा लगाउने माड नहुँदा सम्म कुन्नि कहाँ लगाउने घ्यू खोजेर भएन । भारतका सत्र लाख घरसारविहीनलाई सामाजिक सुरक्षाको प्रावधान छिटो गर्न सके मोदीलाई धन्यवाद अर्पण गर्न हुन्थ्यो ।