साथीहरू गाउँमा जन्मे हुर्के । कहिल्यै यसो सरसापट बाहेक खासै ऋणमा भए जस्तो लागेन । युवावस्थामा विदेश गए । कतिले आय आर्जन गरे । कतिले देशमै व्यवसाय वा पेसा गरेर सहर झरे । सहरमा जायजेथा जोडे। त्यति बेला पनि खासै ऋण लगाएनन् । समयले कोल्टे फेर्‍यो । विभिन्न शीर्षकमा तिनै साथीहरू बेलायत आएर सपरिवार बसेका छन् ।  अहिले धेरैका कपाल फूलेका छन् । यता दुख्ने र उता दुख्ने लगायत कोलेस्ट्रोल देखि रक्तचाप वा कति लाई त मधुमेह सम्मले पिरोलेको छ । छोराछोरीले नेपाली बुझे पनि बोल्न हिचकिचाउँछन् । नातिनातिनाले नेपाली बुझ्ने कुरो भएन । पारिवारिक भाषा समेत झन्डै अङ्ग्रेजी नै भइसक्यो ।

मुस्किलले कहिलेकाहीँ प्रत्यक्ष भेट हुन्छ । नातिनातिना रेखदेख गर्न नपर्दा अनि के कसो छ सोधपुछ हुन्छ । कहिले सम्म रगडिने हो भनेर सोध्दा मोर्गेज अर्थात् घर किन्दाको ऋण तिरिनसक्दा सम्म (६५ वा ६७, ६८ वर्षको उमेर सम्म) भन्छन् । त्यो छोराछोरी न गाउँ फर्कन्छ न सहर  अर्थात् बेलायत छोडेर नेपाल फर्कने वाला कोही छैन । आफै नेपालमा जन्मेको मान्छे बेलायत सरे पछि बेलायत जन्मेका नातिपनाती नेपाल फर्कने भनेको  मृगतृष्णा नै हो । त्यो गाउँ देखि सहरको सम्पत्ति तिनलाई वास्ता हुने कुरो भएन । आफूसँग केही नभए पनि बेलायत सरकारले जन्म देखि मृत्यु सम्म हेर्छ । खुरुक्क त्यो लङ्काको सुनको बखान गर्न भन्दा त्यसलाई बेचबिखन गरेर बेलायतमा ऋणमुक्त भएर बस न भन्दा त्यो पछि चाहिन्छ भन्छन् साथीहरू । गाउँको गाउँ मै राख्ने सहरको सहर मै राख्ने अनि तिनलाई त्यहीँ थन्क्याएर बेलायत आएर कपाल फूले पछि फेरि नयाँ घर किन्न सुरु गरे पछि कसरी समयमै तिरिन्छ त मोर्गेज ।

दर्जनौँ आफ्नै समकक्षी साथीहरूको मलामी गइसकेको मेरो सोच र मेरा सम्पन्न शिक्षित साथीहरूको सोचमा यति धेरै दरार छ । के ती साथीहरू यही लोकमा ऋणमुक्त होलान् वा लङ्कामा सुन छ कान मेरो बुच्चै शैलीमा बस्दा बस्दा स्वर्ग वा नर्क पुगे पछि मात्र ऋणमुक्त हुने र? अनि तिनका उत्तराधिकारीले धन्यवाद  समेत भन्न नपाउने त होइनन् ?