इटहरी । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न एमालेको सचिवालय बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी छ । आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ ।
सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
















