विराटचोकः धनकुटाबाट लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै राजेन्द्र राईले धनकुटामा एमालेको साख जोगाउने काम गर्नुभएको छ ।

अन्तिम मत परिणामअनुसार एमालेका राईले १८ हजार १३२ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याउनुभएको छ ।

श्रम संस्कृति पार्टीका शानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङले १ हजार १८१ मत ल्याउनुभएको छ ।


अन्य उम्मेद्वारले ७१० भन्दा कम मत ल्याउनुभएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले कांग्रेस नेता सुनिल थापालाई १ हजार ३९७ मतान्तरले पछि पार्दैै ३० हजार १०१ मत ल्याएर विजयी हुनुभएको थियो ।

२०७९ सालको निर्वाचनमा विजयी भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका राई पछि खानेपानी मन्त्री पनि हुनुभएको थियो ।