काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । चितवनको जीतसँगै जनकपुरको प्लेअफ सम्भावना सकिएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 

चितवनको जीतमा डेविड मलानले अविजित ३५ रन बनाए । उनले ३९ बलमा १ छक्का प्रहार गरे । कमिल मिश्राले ६ बलमा १२, रवि बोपाराले १६ बलमा १३ तथा कुशल मल्लले २५ बलमा १५ रन बनाए । कमल ऐरी १० बलमा ७ रन जोड्दै अविजित रहे ।

चितवनको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको दोस्रो बलमै अर्जुन साउद खाता नखोली आउट भए । कमिल मिश्राले आक्रामक ब्याटिङ गर्दै ६ बलमा १२ रन बनाए पनि चौथो ओभरमा आउट भए । त्यसपछि रवि बोपारा १३ रनमा र कप्तान सिकन्दर राजा शून्यमा आउट हुँदा चितवन ४.३ ओभरमा २८÷४ को अवस्थामा पुगेको थियो ।

विवेक यादव पनि ७ रन बनाएर पाँचौं विकेटका रूपमा आउट भएपछि चितवन ५.४ ओभरमा ३७÷५ को कठिन अवस्थामा पुगेको थियो । तर डेविड मलान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।


कुशल १५ रन बनाएर १३.२ ओभरमा आउट भए। त्यसपछि मलान र कमल ऐरीले अविजित २५ रनको साझेदारी गर्दै चितवनलाई जितसम्म पुर्याए ।

जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए । उनले ३ ओभरमा १९ रन खर्चिए। ललित राजवंशीले २ तथा विशाल सुस्लिङले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाएको थियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे। विशाल सुस्लिङले १५, सन्तोष कार्कीले १० र राहुल यादवले अविजित १० रन बनाए ।

पहिलो ६ ओभरको पावरप्लेमा टोलीले ३ विकेट गुमाएर २२ रन मात्रै बनाएको थियो । रञ्जित कुमारले सन्तोष कार्की र ह्यारी टेक्टरलाई छोटो अन्तरमा आउट गरेपछि जनकपुर थप दबाबमा परेको थियो ।

९.५ ओभरमा ४० रन बनाउँदा चार विकेट गुमाएको जनकपुरले त्यसपछि पनि लगातार विकेट गुमायो । हरमित र विशालले छैटौं विकेटका लागि २३ रनको साझेदारी गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्याउन सकेनन् ।

चितवनका रञ्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै २ रन खर्चिएर ३ विकेट लिए । सिकन्दर राजा र कमिल मिश्राले २–२ विकेट लिए ।