इटहरी ।  प्रतिनिधि सभा चयनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पराजयपछि नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले पार्टी सभापति पदबाट राजीनामा दिन आवश्यक नरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको छ ।

यो कठीन घडीमा राजीनामा माग्नु वा दिनु समाधान नभई केवल क्षणिक भावावेश मात्रै भएको शर्माले उल्लेख गर्नुभएको छ ।

यस्तो छ शर्माले लेख्नुभएको प्रतिक्रिया जस्ताको तस्तै
सभापतिको राजीनामा निकास होइन, अब शून्यबाटै उठ्ने बेला हो !

यो कठिन घडीमा सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो । नेतृत्वको हैसियतले उहाँमाथि नैतिक दायित्व अवश्य रहन्छ, तर आज देखिएको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति हो । सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक दृष्टिले न्यायोचित हुँदैन ।

हामी सबैले छातीमा हात राखेर आत्मसमीक्षा गर्न आवश्यक छ । यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो । आज देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र होइन; विगतमा भएका गलत निर्णय, जनभावनाविपरीतका गतिविधि र पुरानो नेतृत्वको कमजोर कार्यशैलीको दीर्घकालीन परिणाम हो । जसले नागरिकको मन दुखायो र जनताको विश्वास कमजोर बनायो, त्यसको जिम्मेवारी पनि त्यही पुरानो नेतृत्व र सम्बन्धित व्यक्तिहरूले लिनुपर्छ ।

अब विगतलाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने समय होइन । नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको कोइराला परिवारले सधैँ लोकतन्त्र, त्याग र संघर्षको प्रतीकका रूपमा देशको राजनीति र कांग्रेसको यात्रामा महत्वपूर्ण योगदान दिएको छ । आजको संक्रमणकालीन घडीमा पनि कोइराला परिवारले आफ्नो ऐतिहासिक विरासतलाई स्मरण गर्दै पार्टीभित्र एकता, विवेक र सहकार्यको वातावरण निर्माण गर्न अग्रसर हुनुपर्छ । त्याग, आदर्श र लोकतान्त्रिक मूल्यको त्यो परम्परालाई पुनः जागृत गर्दै सम्पूर्ण शक्ति एकढिक्का बनाउने जिम्मेवारी सबैको काँधमा आएको छ ।

आउनुहोस्, विगतका कमी–कमजोरीबाट पाठ सिक्दै अब शून्यबाटै नयाँ संघर्ष सुरु गरौँ । काँधमा काँध मिलाएर जनताको गुमेको भरोसा पुनः जितौँ र पार्टीलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली रूपमा स्थापित गरौँ ।