काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम तेस्रो सिजनमा पनि प्लेअफमा पुगेको हो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाएपछि सुदूरपश्चिम प्लेअफमा पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
यो जीतसँगै सुदूरपश्चिम लिग चरणका सबै खेल सकाएर १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । ऊ प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ ।
यसअघि साबिक विजेता लुम्बिनी लायन्स ९ अंकसहित प्लेअफमा पुगिसकेको छ ।
आज पराजित भए पनि काठमाडौंको प्लेअफ सम्भावना भने कायमै छ । ८ अंक जोडेको काठमाडौंले लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ । अन्तिम खेलमा पराजित भए पनि नेट रनरेटका आधारमा प्लेअफ पुग्ने सम्भावना उसँग रहनेछ ।
हिजोको खेलमा विजयी हुँदै साबिक विजेता लुम्बिनी लायन्स जारी सिजनको प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।


















