गछियाः मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गछियास्थित आश्रय सुधार केन्द्रमा शौचालयभित्र लडेको अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–४ निवासी अन्दाजी ४८ वर्षीय शुभाष शेर्पा रहेका छन् । लागूऔषध सेवनकर्ता रहेका शेर्पा विगत सात–आठ महिनादेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार बुधबार राति करिब १०ः४५ बजे शेर्पा शौचालयको ढोका भित्रबाट बन्द गरी लडेको अवस्थामा सुधार केन्द्रका कर्मचारीले फेला पारेका थिए । कर्मचारीहरूले तत्काल ढोका खोलेर उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याएका थिए ।
उपचारका क्रममा राति ११ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे बिहीबार बिहान ११ः१५ बजे नोबेल अस्पतालस्थित प्रहरी कार्यालयबाट इलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी प्राप्त भएपछि प्रहरी चौकी गछियाबाट टोली खटिएको थियो ।


















