विराटनगर । मोरङको लेटाङमा घरमै आरन सञ्चालन गरी बन्दुक बनाउँदै आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पूर्णबहादुर लिम्बू रहेका छन् ।


लिम्बूले घरमै बन्दुक बनाएर बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले घरमै बनाइएको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हतियार निर्माण गर्ने आरन तथा बन्दुकका विभिन्न पार्टपुर्जा बरामद गरेको थियो । 


लिम्बूले घरमै आरन थापेर भरुवा बन्दुक निर्माण गरी बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।