विराटचोकः मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३ लाई सफल बनाउन बिहीबार राजनीतिक दल तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ ।


असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा १० स्थित औद्योगिक प्रदर्शनी केन्द्र, विराटचोकमा सञ्चालन हुने फेस्टिभलमा खानाका परिकारका २० स्टल रहनेछन् । विभिन्न जातजातिका मौलिक परिकारसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको प्रदर्शन तथा प्रवद्र्धनसमेत गरिने आयोजकले जनाएको छ ।


फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ भने बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि सञ्चालन गरिनेछ ।


सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी, राप्रपा, नेपाली कम्युनिष्ट पार्टीका नगर प्रमुख तथा प्रतिनिधिका साथै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज चापागाईंलगायत सहभागी थिए ।


सहभागीहरूले स्थानीय जातजातिका मौलिक परिकारलाई प्राथमिकता दिनुपर्ने, नगरका सबै क्षेत्रलाई समेट्नुपर्ने, कृषकका उत्पादनको प्रवद्र्धन गर्नुपर्ने तथा स्थानीय कलाकारलाई अवसर दिनुपर्ने सुझाव दिएका थिए ।


कांग्रेसकी नगर उपसभापति अमृता लिम्बूले स्थानीय जनजातिका मौलिक परिकारलाई प्राथमिकता दिँदै नगरको सबै भूगोल समेट्न सुझाव दिइन् । 


एमालेका नगर अध्यक्ष डिल्लीप्रसाद ढकालले सबै जातजातिलाई जोडेर कार्यक्रम गर्नुपर्ने र चाडपर्वको समय भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताए ।


रास्वपाका नगर सभापति टेकमणि न्यौपानेले दशैंका कारण व्यवसायी तथा स्टल सञ्चालकलाई जनशक्ति व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले फेस्टिभलबाट प्राप्त आम्दानीको केही रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सके राम्रो हुने सुझाव दिए ।


उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज चापागाईंले स्थानीय मौलिक पोशाकसहित परिकार प्रस्तुत गर्नुपर्ने, व्यवसायीले फेस्टिभलमा सम्भावना देख्ने वातावरण बनाउनुपर्ने तथा विभिन्न क्षेत्रका मौलिक परिकारको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए ।


उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभलमा सीसी क्यामेरासहितको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइने बताए । उनले फेस्टिभलबाट प्राप्त रकममध्ये केही रकम छुट्याएर अधुरो सार्वजनिक शौचालय निर्माण पूरा गर्ने जनाए ।


संघले पहिलोपटक आयोजना गर्न लागेको फेस्टिभल भएकाले केही चुनौती हुन सक्ने भन्दै अध्यक्ष कार्कीले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए । राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त रचनात्मक सुझावलाई समेटेर फेस्टिभललाई प्रभावकारी र सफल बनाउने प्रतिबद्धता उनले जनाए ।