इटहरी । हिजो नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा अडिएको छ । 

नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।  

लघुवित्त समूहबाहेक सबै उपसमूह राताम्य भएका छन् । सो  उपसमूह ०.०९ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा विकास बैंक समूह ०.७० प्रतिशत घटेको छ ।  बैंकिङ समूह ०.५७ प्रतिशत, फाइनान्स समूह ०.५० प्रतिशत, होटल तथा पर्यटन समूह ०.४२ प्रतिशत, हाइड्रो समूह ०.६७ प्रतिशत, लगानी समूह ०.२९ प्रतिशत, जीवन बीमा समूह ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.३९ प्रतिशत, व्यापार समूह ०.१४ प्रतिशत र अन्य समूह ०.४८ प्रतिशत घटेको छ ।  

सूचक घटेको बजारमा सर्वाधिक कमाउने स्टकमा कुमारी सबल योजना रहेको छ । यो स्टकको इकाईमूल्य २.९६ प्रतिशत बढेर ९.३८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, स्नो रिभर्स लिमिटेडको २.८६ प्रतिशत, एशियन हाइड्रोको २.७० प्रतिशत, कुमारी इक्विटी फण्डको २.६२ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २.४२ प्रतिशत, भगवती हाइड्रोपावरको २.३८ प्रतिशत, आँखु खोला जलविद्युतको २.३७ प्रतिशत, छिमेक लघुवित्तको २.०४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को २.०१ प्रतिशत, कुमारी धनवृद्धि योजनाको १.८४ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने स्टकमा केबीएल डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य ५.०९ प्रतिशत घटेको छ । चिरख्वा हाइड्रोपावरको ४.६१ प्रतिशत, हिमालयन रि को ३.७५ प्रतिशत, उन्नती  सहकार्य लघुवित्तको ३.६५ प्रतिशत, भुजुङ हाइड्रोको ३.६५ प्रतिशत, घोराही सिमेन्टको ३.३३ प्रतिशत, रिभर फल्सको ३.०३ प्रतिशत, सवोत्तम पेन्ट्सको ३.०२ प्रतिशत, एभरेष्ट कलरको २.९८ प्रतिशत र सिटिजन्स बैंक डिबेञ्चरको २.८७ प्रतिशत घटेको छ ।

सूचक घटेको बजारमा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक १८ करोड १९ लाख २९ हजार ६०३ रुपैयाँको शेयर किनबेच भएको छ । 

उच्च कारोबार गर्ने अन्य कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, घलेम्दी हाइड्रोपावर, अपि पावर कम्पनी र एनआइसी एशिया बैंक परेका छन् ।