इटहरी । सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक छठ पर्व आजदेखि औपचारिक रूपमा शुरु भएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि षष्ठीसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन् ।
आज बिहानैदेखि व्रतालुहरूले नदी, पोखरी वा तलाउमा गई पवित्र स्नान गर्ने तथा घरको सरसफाइ गर्ने गर्दछन् । स्नान पश्चात् व्रतालुहरूले पूर्ण रूपमा सात्विक भोजन ग्रहण गर्ने परम्परा छ । यस दिन विशेष गरी लौकाको तरकारी, चन्दना वा अवा चामलको भात र चनाको दाल मिसाइएको भोजन (कद्दु–भात) खाने चलन रहेको छ । परिवारका अन्य सदस्यहरूले पनि व्रतालुले भोजन गरेपछि मात्रै प्रसादका रूपमा यसलाई ग्रहण गर्छन् ।
नुहाएर सात्विक भोजन गर्ने हुनाले आजको दिनलाई नहाय खाय भनिएको भन्ने भनाइ पनि छ ।
मिथिला क्षेत्रलगायत देशैभरि नदी किनार, पोखरी तथा जलाशयहरूलाई दुलही झैँ सजाइएको छ भने छठ पर्वको रौनका कारण तराई–मधेससहित देशभर उत्सवको वातावरण छाएको छ ।
छठको मुख्य दिन अर्थात् तेस्रो दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।


















