इटहरी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स बीच प्रतिष्पर्धा हुने भएको छ । दिउँसो साढे १२ बजे यी दुई टोली आमनेसामने हुने भएका हुन् ।
काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
काठमाडौंले आज छैटौं खेल खेल्न लागेको हो भने सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल खेल्दैछ ।
प्लेअफ स्थान सुरक्षित गर्न सुदूरपश्चिमलाई आजको खेलमा जित्नै पर्नेछ । पराजित भए अन्य टोलीको खेल नतिजा पर्खनुपर्नेछ ।
दुई खेल खेल्न बाँकी रहेका कारण काठमाडौं गोर्खाज कम दबाबमा छ । उसले खेलेको पाँच खेलमध्ये ४ खेलमा जीत निकालेको छ ।
आज साँझ ५ बजे चितवन राइनोज् र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुने भएको छ ।
जनकपुरले पनि आज लिग चरणको अन्तिम खेल खेल्दैछ । प्लेअफ सम्भावना जीवित राख्नका लागि उसलाई खेल जित्नुपर्ने दबाब छ ।
जनकपुरले ६ मध्ये २ खेलमात्रै जितेको छ । प्लेअफमा पुग्ने झिनो सम्भावना उसका लागि अझै बाँकी रहेको छ । खेल जिते पनि उसले अरू टोलीको नतिजा पर्खनुपर्नेछ ।
चितवनको सम्भावना जनकपुरको भन्दा बढी छ । आजको खेलपछि उसले अझै एक खेल खेल्न बाँकी रहनेछ । चितवन ५ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । दुवै खेल जित्न सके उसको प्लेअफमा पुग्न सक्ने सम्भावना बलियो छ ।
एनपीएलमा हिजो पनि दुई प्रतिष्पर्धा भएका थिए ।
भोलि एउटामात्रै खेल हुने खेलतालिका रहेको छ ।


















