इटहरी । सरकारले सञ्चालन गरेको ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमार्फत बिग मार्टबाट किनमेल गरेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको रोचक सहभागिता रहेको थियो । कार्यक्रमस्थलबाटै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने उपभोक्तालाई प्रत्यक्ष टेलिफोन सम्पर्क गरिएको थियो । पुरस्कारबारे शुरुमा अनविज्ञ रहेका ती विजेताले आफू नेपाल प्रिमियर लिग (एनपिएल) मा ‘जनकपुर बोल्ट्स’को समर्थक रहेको बताएका थिए । संयोगवश कार्यक्रममै उपस्थित जनकपुर बोल्ट्स तथा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितनारायण राजवंशीले विजेतासँग फोनमा कुराकानी गर्दै बधाई दिएका थिए । समर्थित टोलीका खेलाडीबाट १० लाखको पुरस्कार जितेको खबर पाएपछि उत्साहित बनेका ती विजेताले पुरस्कार रकमले आफ्नो घर बनाउने खुशी व्यक्त गरेका थिए ।

विजेता उपभोक्ताले गत कात्तिक ५ गते बिग मार्टबाट सामान खरिद गरी बिलको विवरण प्रणालीमा प्रविष्ट गरेका थिए । उनलाई खरिद गरिएको सक्कल बिल लिएर जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कागजी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

उपभोक्तामाझ सामान किन्दा अनिवार्य बिल लिने संस्कृतिको विकास गर्न सरकारले यो योजना अघि सारेको हो । योजना अन्तर्गत कात्तिक १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलहरूमध्येबाट १५ जना दैनिक विजेता र १ जना बम्पर विजेता गरी कुल १६ जना भाग्यशाली विजेता घोषित भएका छन् ।

कार्यक्रममा बोल्दै क्रिकेटर राजवंशीले प्रत्येक खरिदबिक्रीमा बिल लिने बानीको ठूलो महत्त्व रहेको बताउनुभयो ।