इटहरी । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै तथा इम्पेयरमेन्ट चार्ज घटेसँगै खुद नाफामा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८८ करोड ४४ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी १ अर्ब ९ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट वृद्धि भएर ६.८७ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ छ । लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस १७.०६ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ १६९.५० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ ।