काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ। मतदानसँगै सभापतिसहितका पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको राजनीतिक भविष्य मतपेटिकामा बन्द हुन थालेको छ। निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै आजै मतगणना सुरु गर्ने तयारी गरेको छ।
मतदानको सुरुआत ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर गरेका छन्।
प्रतिनिधिलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन समितिले विभिन्न प्रदेश तथा समूहका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।
राष्ट्रिय सभागृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई-मधेस समूह
हिमाल हल : गण्डकी प्रदेश
तराई-मधेस हल : मधेस प्रदेश
पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेको छ। मतदानस्थलमा प्रवेश गरेपछि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने समितिले जनाएको छ।
मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि तोकिएका केन्द्रमा लाइनमा बसेका थिए। अघिल्लो दिन मतदान हुन नसकेपछि रोकिएका प्रतिनिधिहरू शुक्रबार मतदानमा सहभागी भएका छन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। उनका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि मतदाता छन्।


















